होमेन्द्र थापा, बर्दिया
बर्दियाको गुलरिया नगरपालिका–४ टपरामा स्थानीयको श्रम, सहयोग र चन्दाबाट निर्माण गरिएको शिव शंकर मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा गरिएको छ। करिब तीन महिनामा निर्माण सम्पन्न भएको मन्दिरमा नर्मदेश्वर शिवलिंग, आसन र नन्दी स्थापना गरी प्राणप्रतिष्ठासमेत गरिएको हो। मन्दिर निर्माणसँगै टपरा क्षेत्रमा धार्मिक गतिविधि बढ्नुका साथै मन्दिर परिसरमा चहलपहलसमेत बढेको स्थानीयको भनाइ छ।
शिव शंकर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष होतराज सिग्देलका अनुसार टपरामा प्राचीनकालदेखि नै सानो मन्दिर रहे पनि दर्शन, पूजा तथा आराधना गर्न असहज हुँदै आएको थियो। भक्तजनलाई घामपानीबाट ओतिएर सहज रूपमा पूजा गर्न सक्ने वातावरण बनाउने उद्देश्यले पुरानो मन्दिरलाई व्यवस्थित गर्दै नयाँ मन्दिर निर्माण गरिएको हो।
मन्दिर निर्माणमा स्थानीयवासी, चन्दादाता, जनप्रतिनिधिलगायत विभिन्न व्यक्तिको सहयोग रहेको अध्यक्ष सिग्देलले बताउनुभयो। गुलरिया नगरपालिकाले समेत अभिभावकीय भूमिका निर्वाह गर्दै निरन्तर सहयोग गरेको उहाँको भनाइ छ। उहाँले मन्दिरलाई कुनै एक दिनको धार्मिक गतिविधिमा मात्र सीमित नगरी विभिन्न पर्व तथा तिथिमा पूजा–आराधना गर्नुका साथै दैनिक पूजापाठ गर्ने वातावरण बनाउन स्थानीयलाई आग्रह गर्नुभयो।
शुक्रबार आयोजित उद्घाटन कार्यक्रममा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले मन्दिर निर्माण तथा व्यवस्थापनमा स्थानीयवासी, चन्दादाता र जनप्रतिनिधिको योगदान अतुलनीय रहेको बताउनुभयो। उहाँले मन्दिरको थप व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। नगर प्रमुख यादवले मन्दिर व्यवस्थापन समिति गठन गरी नगरपालिकासँग समन्वय गर्न तथा मन्दिर परिसरमा ब्लक तथा टायल लगाएर थप व्यवस्थित बनाउन सुझाव दिनुभयो। सृष्टि आमा समूहको भजन मण्डलीलाई आवश्यक सामग्री खरिद गरी एक साताभित्र बिल पेस गर्नसमेत उहाँले आग्रह गर्नुभयो।
स्थानीय ज्येष्ठ नागरिक डिल्लीराज अर्यालले विगतमा टपरा क्षेत्र केही पिछडिएको र मन्दिर वरिपरि गाईभैँसी चराउने अवस्था रहेको स्मरण गर्नुभयो। सिग्देल परिवारलगायत स्थानीयको सक्रियतामा संघीय सरकार र नगरपालिकाको सहयोग जुटेपछि शिव मन्दिर निर्माण भएको र मन्दिरअगाडि आमा समूहले गणेश मन्दिरसमेत निर्माण गरेपछि क्षेत्र थप आकर्षक बनेको उहाँले बताउनुभयो।
हिन्दु धर्मावलम्बीका लागि साउन महिना भगवान शिवको पूजाआजा, व्रत तथा आराधनाका दृष्टिले विशेष मानिन्छ। साउनमा शिवको आराधना गर्दा मनोकामना पूरा हुने र पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। यस महिनामा भक्तजनले शिवालयमा पुगेर पूजाआजा तथा जलार्पण गर्ने परम्परा रहिआएको छ।
साउन महिनाको सुरुवातसँगै महिलाले हरियो चुरा, मेहन्दी तथा हरियो पोते लगाउने चलनसमेत छ। साउनमा दानदक्षिणा गर्ने तथा धार्मिक तीर्थस्थलको भ्रमण गर्ने परम्परा पनि रहिआएको छ। यही धार्मिक महत्वलाई ध्यानमा राख्दै टपरामा नर्मदेश्वर शिवलिंग, आसन र नन्दी स्थापना गरी प्राणप्रतिष्ठा गरिएको हो। गुलरिया नगरपालिका–४ टपरामा निर्माण भएको शिव शंकर मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा नगर प्रमुख मुक्तिनाथ यादवले गर्नुभएको हो। करिब तीन महिनामै निर्माण सम्पन्न भएको मन्दिरका लागि विभिन्न स्रोतबाट २६ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
स्थानीयको श्रम, सहयोग र चन्दाबाट निर्माण भएको मन्दिरले टपरा क्षेत्रको धार्मिक तथा सामाजिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।