होमेन्द्र थापा, बर्दिया
जिल्ला सहकारी संघ बर्दियाको २३औँ साधारण सभाको तयारीका लागि बैठक सम्पन्न भएको छ। जिल्ला सहकारी महासंघ बर्दियाको ३२औँ बैठकमार्फत आगामी साधारण सभासम्बन्धी तयारी, कार्यक्रम व्यवस्थापन तथा आवश्यक एजेण्डाबारे विस्तृत छलफल गरिएको हो।
बैठक बर्दियाको ठाकुरबाबा नगरपालिका–५, बगनाहास्थित सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभा कक्षमा सम्पन्न भएको थियो। छलफलमा जिल्ला सहकारी संघ, बहुउद्देश्य सहकारी संघ, दुग्ध उपभोक्ता संघ तथा बचत तथा ऋण सहकारी संघ गरी चार विषयगत संघका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा साधारण सभामा सहभागी प्रतिनिधि चयन, निर्वाचन समिति गठन, कार्यक्रमको समग्र तयारी, एजेण्डा निर्माण तथा आतिथ्य व्यवस्थापन लगायतका विषयमा विचार–विमर्श गरियो। सहभागी छलफलपछि २३औँ साधारण सभाको मञ्च व्यवस्थापनको जिम्मा सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वहन गर्ने निर्णय गरिएको छ। भोजन, चिया तथा पानी व्यवस्थापन भने संस्थाका अध्यक्ष कालीचरण चौधरीको संयोजनमा हुने सहमति भएको छ। निर्वाचन समितिमा अधिवक्ता धर्मराज घर्ती, मिना चौधरी र गंगा गुरुङ रहने निर्णय गरिएको छ।
जिल्ला सहकारी संघका अध्यक्ष नवराज ढुंगानाका अनुसार गत आर्थिक वर्षमा जिल्लामा रहेका २४६ सहकारीमध्ये १५७ सहकारी मात्र नवीकरण भएका थिए। त्यस अवधिमा विभिन्न सहकारी संघ र संस्थासहित २४१ संस्था क्रियाशील रहेको जानकारी पनि उनले दिए। आगामी साधारण सभामा जिल्लाका सबै आठ पालिकाबाट प्रतिनिधि सहभागी हुने अपेक्षा अध्यक्ष ढुंगानाले व्यक्त गरे।
उनले सहकारी संस्थाहरूको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि जिल्ला सहकारी संघ निरन्तर क्रियाशील रहेको बताउँदै, सबै सहकारी संस्थाको सहयोग जुटाएर भए पनि संघको आफ्नै भवन निर्माण गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी जिल्ला सहकारी संघका सचिव चित्र खनालले पछिल्लो समय सहकारी क्षेत्रमा उत्पन्न समस्या र चुनौतीका कारण नवीकरणको दर घट्दै गएको बताउँदै, सहकारी संघका पदाधिकारीहरूले कम्तीमा दुई कार्यकाल दोहोरिनु उचित रहने धारणा राखे। साथै दोस्रो कार्यकालका लागि आफ्ना क्षेत्रबाट नेतृत्व पहिचान र पहल गर्न सबैलाई अनुरोध गरे।